राजनीति

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ, १५ चैत । विपक्षी दलहरूसँग कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो । 

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् । 

घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।