काठमाडौँ, १७ चैत । प्रहरीले दुर्गा प्रसाईंको राहदानी कालोसूची ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी गरेको छ ।
अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुन्छ र पक्राउ गर्न सहज हुन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘प्रसाईं फरार छन्, अन्तर्राष्ट्रिय सिमामा उनको आवागमनमा हामी रोक लगाउँछौँ ।’
आइतबार उनको पासपोर्ट कालोसूचीमा राख्ने गरी अध्यागमन विभागलाई पत्राचार गरिने अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको चैत १५ गतेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् ।
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ । प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि स्थिति हिंसात्मक बनेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्