राजनीति

लैंगिक समानताका उपलब्धि संस्थागत हुनुको साटो कमजोर हुँदैछ : पूर्वराष्ट्रपति भण्डारी



रूपन्देही, १७ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताका प्राप्त उपलब्धि संस्थागत हुनुको साटो बिस्तारै कमजोर हुन लागेको भन्दै त्यसमा संवेदनशील हुन आग्रह गरेकी छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा शनिबार आयोजित लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लैंगिक समानताका पक्षमा नीतिगत र कार्यक्रमगत परिवर्तन भए पनि समाजमा जरा गाडेर बसेको भेदभावले महिलामाथि हिंसा गरिरहेको बताइन् ।

उनले भनिन्, ‘महिलाहरुलाई प्रत्यक्ष निर्वाचनको अवसर नदिने तर समानुपातिकबाट सदनमा पुगेका महिलालाई असमान व्यवहार गरेको गुनासो सुनिन्छ । प्रत्यक्षमा अवसर नदिने तर महिला भएकै कारण समानुपातिक सांसदलाई भेदभाव गर्नु हुँदैन । संविधानविपरीतको त्यस्तो कार्य रोक्न आग्रह गर्दछु ।’

पूर्वराष्ट्रपति भण्डारीले व्यक्ति, घरपरिवार, समुदायदेखि राज्यका निकायमा भएका लैंगिक असमानता हटाउन महिला र पुरुषबीच सहकार्य र नीतिगत सुधार आवश्यक रहेको पनि बताइन् ।