समाचार

३ भुटानी नागरिक झापामा पक्राउ



काठमाडौँ, १७ चैत । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ ।

शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ ।

४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।

भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । झापाको बेलडाँगीमा रहेका शरणार्थी शिविरमा ५ हजार शरणार्थी बसिरहेका छन् ।