काठमाडौँ, १८ चैत । इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् ।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ । रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् । यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ । यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुन्य कमाउने काम पनि अधिक हुन्छ ।
सामान्यतया इद को अर्थ खुसी हो । एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसियाली मनाउने गरिन्छ । विशेषगरि बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन ।
ईदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन र यस्तो रकम आफु निकटको सबै भन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ।
प्रतिक्रिया दिनुहोस्