काठमाडौँ, १८ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबै खाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताएका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उनले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको बताएका हुन् ।
“भाइचारा, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ ले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश दिनुको साथै असहाय, गरिब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्नसमेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँदछ”, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।
धर्मले समता, स्वतन्त्रता, बन्धुत्व, न्याय आदिको पृष्ठपोषणमा टेवा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्नमा सघाउने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्