काठमाडौँ, १८ चैत । गणतन्त्र पक्षधर राजनीतिक दलहरूले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् ।
आइतबार सिंहदरबारमा बसेको १२ दलको बैठकले ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक दलहरूको निचोड रहेको छ । बैठकमा सबै राजनीतिक दलले आ–आफ्ना मतान्तर बिर्संदै संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा एकजुट हुने प्रतिबद्धता प्रकट गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा कटौती गर्न र गतिविधिमा निगरानी बढाउन सरकारलाई आग्रह गरेको छ । पूर्वराजाको सुरक्षार्थ खटिएको प्रहरीको टिम भने दलहरूको बैठकअघि नै गृह मन्त्रालयले परिवर्तन गरिसकेको छ । अन्य सेवा सुविधा पनि क्रमशः कटौती गर्दै लैजानुपर्ने विषयमा पनि उनीहरूले छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेसपा (नयाँ शक्ति) र नेकपा सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्