झापा, १८ चैत । बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी झापा जिल्लाभर ६४ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
यस अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । २०६२ सालदेखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ । तत्कालीन उपायको रुपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तीबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुई जना घाइतेलाई दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई रु २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्