समाचार

काठमाडौँको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा



काठमाडौँ, २३ चैत । काठमाडौँ उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ ।

वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौँ उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौँ उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९३ रहेको छ । यसलाई अस्वस्थकर अवस्था मानिन्छ । यो अघिल्ला दिनको तुलनामा केही कम हो । विश्वका प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा रहेको चीनको वुहानमा एक्यूआई १६६ रहेको छ ।

वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने  ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । यस्तै, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।