काठमाडौँ, २४ चैत । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।
राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा प्रचण्डले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिलसमेत गरेका छन् ।
‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन् । अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्न संसद्को विशेष अधिवेशनका लागि प्रतिपक्षी दलहरूसँग संवाद थाल्ने बताए । ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि माग पूरा गर्नेतिर हामी अघि बढ्छौं । म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्