Banner News

राजनीतिक अस्थिरता र अराजकता मुलुकको चुनौती : महासचिव पोखरेल



काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन् ।

राष्ट्रिय युवासंघ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र अराजकता लामो समयसम्म नजाने बताए । उनले राजनीतिक अस्थिरता र अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको उल्लेख गरे । उनले युवा पुस्ता परम्परागत कृषिमा जोडिन नचाहँदा विदेश पलायन बढेको बताए । उनले परम्परागत कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणाली विकास गरेर देशमा रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “नयाँ पुस्ता परम्परागत कृषिमा संलग्न हुन चाहेन, जसले सबैभन्दा धेरै रोजगारी दिन्थ्यो, त्यो रोजगारीबाट युवाहरू अलग्गिए, आज समाजमा जुन प्रकारको मानव शक्ति व्यवस्थापन चुनौती छ, त्यसका कारण भनेको शिक्षित युवा कृषिबाट विमुख हुनु हो । देश रातारात बन्दैन । समय लाग्छ । २०१५ साल यता जम्मा १७ वर्षमात्र राजनीतिक दलले नेतृत्व गर्न पाएका छन् । राजनीतिक दलले नेतृत्व गर्ने समय पर्याप्त नपाएर मुलुक नबनेको हो ।”