Banner News

नेपाल शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ  : सभामुख घिमिरे



काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरेले नेपालको संविधानमै असङ्लग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताएका छन् । 

उज्बेकिस्तानको ताशकन्दमा आयोजित असङ्लग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको भनाइ छ । नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । बान्डुङ सिद्धान्तहरूप्रति आफ्नो मुलुकको प्रतिबद्धता रहेको बताए । सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले “वसुधैव कुटुम्बकम्” को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्न सक्ने धारणा राखे । 

उनले भने, “नेपाल असङ्लग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सहअस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ ।”