समाचार

मकवानपुरमा बस दुर्घटना, ३१ जना घाइते



मकवानपुर, २८ चैत । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा दुर्घटना भएको थियो । बसमा चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुर भिमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६  को श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की  रिता कुमारी मगर, चितवन राप्ति २ गडौली बस्ने वर्ष २९ को पशुको डा सरोज ओझा, डा ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भई उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको छ । 

त्यस्तै दुर्घटना घाइते भएका मकवानपुर भिमफेदी-२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि-३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।