समाचार

जुवा खालबाट नगदसहित १३ जना पक्राउ



धनगढी, ३० चैत । धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका -३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक खडक कुँवर,धनगढी-३ का दानबहादुर विष्ट, नवीन थापा, मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने दुर्गा अधिकारी रहेका छन् । यस्तै  बझाङको छविस पाथिभेरा गाउँपालिका- २ का उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका-१ बस्ने दिनेश पन्तलाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट एक लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको छ ।