राजनीति

ट्रम्पको आगमनपछि ६३ नेपाली अमेरिकाबाट निष्कासित



काठमाडौँ, ३१ चैत । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो । 

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमनका अनुसार अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली आउने क्रम जारी छ ।

अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ । विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ‘डिपोर्ट’ भएकामध्ये ८ जना एकैपटक गत २१ चैतमा चार्टर्ड जहाजबाट र अरू ५५ जना नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् । ‘डिपोर्ट’ भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ ।

विमानस्थल अध्यागमन र नेपाल प्रहरीका अनुसार ‘डिपोर्ट’ मा परेका अधिकांश व्यक्ति ‘मानव तस्कर’ लाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेर अमेरिका छिरेकाहरू छन् । उनीहरूमा धेरैजसो पश्चिम/पूर्वी रुकुम, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँचीतिरका छन् । उनीहरू ५० लाखदेखि १ करोड रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाइएको छ ।