भक्तपुर, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक सुधार भए मात्र संघीय गणतन्त्र बलियो हुने धारणा राखेका छन् ।
सोमबार भक्तपुरको चाँगुनारायण, काठमाडौको शंखरापुर काभ्रेको बनेपा र मण्डन्देउपुर नगरपालिकाको संयुक्त आयोजनामा सन्चालन गरिएको नगरकोट भ्रमण वर्ष २०८२ को औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्त हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथ जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए ।
पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई देशको आर्थिक मेरुदण्डका रूपमा उल्लेख गरेका हुन् । यिनै क्षेत्रहरूमा विद्यमान समस्याहरू हटाएर उपयुक्त नीति, कानुन तथा अवसर सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको उनको भनाइ थियो ।
उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण गर्दै तिनलाई आर्थिक विकासको आधार बनाउनेतर्फ सरकार तथा सरोकारवालाहरू सचेत हुनुपर्ने बताए। ‘नगरकोट तथा आसपासका क्षेत्रहरूको प्रकृति, संस्कृति र सभ्यतालाई नेपाल र अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गरेर देशको आय आर्जनमा योगदान दिन सकिन्छ,’ राष्ट्रपति पौडेलको भनाइ थियो।
राष्ट्रपतिले नगरकोटलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि मनोहर गन्तव्यका रूपमा वर्णन गर्दै यहाँको सूर्योदय, हिमशृङ्खला र सांस्कृतिक विविधताले यो क्षेत्रलाई विशेष बनाएको उल्लेख गरे। चाँगुनारायण मन्दिर, महादेव पोखरी, मञ्जुश्री गुफा, भंगेरी, पुतली दरबार, शालीनदी, बज्रयोगिनी मन्दिर र साँखु बजारको ऐतिहासिक महत्त्वलाई जोड दिँदै उनले पदयात्रा मार्गहरूबाट पनि पर्यटन गतिविधि बढेको बताए ।
प्रतिक्रिया दिनुहोस्