समाचार

पालिकालाई अपाङ्गतासम्बन्धी सामग्री हस्तान्तरण



मुस्ताङ, २ वैशाख  मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ ।

शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका र हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी जिल्लास्थित सामाजिक विकास कार्यालयले सोमबार अपाङ्गता सहायता सामग्री हस्तान्तरण गरेको हो ।

घरपझोङ गाउँपालिका कार्यालयमा जिल्लाका पाँचै वटा पालिकालाई आवश्यकताका आधारमा सामाजिक विकास कार्यालयले अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरेको कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।

फोल्डिङ लौरी, इअर सेट, ह्विलचियर र चर्पी चियर हस्तान्तरण गरिएको छ । उनका अनुसार घरपझोङले फोल्डिङ लौरी ३७ थान, इअर सेट सात थान, ह्विलचियर पाँच थान र चर्पी चियर आठ थान, थासाङ गाउँपालिकाले फोल्डिङ लौरी २० थान, इअर सेट चार थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान पाएका छन् ।

बारागुङ मुक्तिक्षेत्रले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्वीलचियर दुई र चर्पी चियर दुई थान, लोमान्थाङ गाउँपालिकाले फोल्डिङ लौरी १२ थान, इअर सेट तीन थान, ह्विलचियर दुई थान र चर्पी चियर दुई थान तथा लोघेकर दामोदरकुण्ड गाउँपालिकाले फोल्डिङ लौरी १० थान, इअर सेट तीन थान, ह्विलचियर एक थान र चर्पी चियर दुई थान प्राप्त गरेको जनाइएको छ ।