Banner News

५ प्रतिशत जनमत नभएकाले सत्ता हत्याउन चाहन्छन् : प्रधानमन्त्री ओली 



काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले लोकतान्त्रिक व्यवस्था परिवर्तन गरी सत्ता हत्याउन खोजेको बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलुकमा प्रतिगमन ल्याउनका लागि त्यस्ता क्रियाकलाप भएको बताउँदै त्यसका लागि मुलुकमा अराजकता ल्याउन खोजिएको ओलीको भनाइ थियो । ओलीले सरकार र व्यवस्था नै त्यो पाँच प्रतिशतको बलमा परिवर्तन गर्न खोजेको बताएका हुन् । त्यस्ता संकेत नेपालमा देखा परेको उल्लेख गर्दै ओलीले अराजकता त्यसैको आडमा ल्याइएको बताए ।

उनले भने, ‘नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोच, प्रवृति, माग केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छे त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ । उनीहरूसँग पनि जनमत छैन । उनीहरू बढीमा पाँच प्रतिशत छन्, त्योभन्दा बढी छैनन् । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट… दे वान्ट टु क्याप्चर द पावर ।’