समाचार

मुस्ताङमा खानेपानीका मुहान सुक्दै



मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् ।

कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । 

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक सङ्ख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गरिरहेको छ । उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु सङ्कटले हिमाली जिल्ला मुस्ताङको खानेपानी, कृषि र पशुपालनलगायत जैविक विविधतामा असर पुर्‍याउँदै गइरहेको औँल्याएका हुन् ।