मनोरञ्जन

महजोडीको दोस्ती ४५ वर्ष पुरा



काठमाडौँ, १५ वैशाख । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहकार्यले वैशाख १४ गते ४५ वर्ष पूरा भएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी श्रृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचित छन् । करिब आधा दशकसम्म निरन्तर रुपमा जोडी बनेर दर्शकको मन जितेका र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्नसक्नु नै उनीहरू दुईको इमान्दारिताको उदाहरण हो ।

यो ४५ वर्षको सहकार्यमा मह जोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रुपमा बुझेका छन् । किनकी कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए पाए । “हामीले रङ्गमञ्चमा प्रहसन गर्यौं, क्यासेट बनायौँ, टेलिभिजनका लागि श्रृंखला बनायौँ, चलचित्रमा पनि काम गर्‍यौं । यसकारण पनि म र मदन दाई भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत् आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गरेर ‘डिजिटल’ रुपमा उपलब्ध गराएका छौँ”, अभिनेता आचार्यले भने ।

उनले मह जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । “दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नु भएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधँै सहयोग गरेर अगाडि बढ्न मद्दत गर्‍यो । हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरह्यौँ”, अभिनेता आचार्यले भने ।

यसैगरी अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए । उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ-हानि हाबी हुन नदिएको बताए ।

उनले भने, ‘हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काम एउटै छ, त्यसकारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमान्दारिता छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म मह जोडीका रुपमा यात्रा तय गर्न सकेका हौँ ।”