काठमाडौँ, २० बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ७० लाख १५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का सम्पूर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का सुजन गिरी, काठमाडौं महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ का शिरबहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका– ४ की सरस्वती देवकोटा रहेका छन् ।
प्रहरीका अनुसार पक्राउमध्ये सम्पूर्ण र सुजनले युके पठाइदिन्छु भन्दै पीडितबाट ६१ लाख ६५ हजार रूपैयाँ, शिरबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यूएई पठाइदिन्छु भन्दै एक लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनीहरू पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्