राजनीति

बुद्ध ‘शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात’: अध्यक्ष प्रचण्ड



काठमाडौँ, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको बताएका छन् ।

गौतम बुद्धको जन्मजयन्तीको अवसरमा व्यक्त शुभकामनामा उनले क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक रहेको बताउँदै बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको जिकिर गरेका हुन् ।

सन्देशमा भनिएको छ, ‘शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उनको भनाई छ ।

उनले भनेका छन्, ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ ।’