समाचार

स्रोत पुस्तिका सार्वजनिक



काठमाडौँ, २९ वैशाख । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (सिड) समिति अन्तरगत आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरुको अधिकारका लागि सिडको आधारभूत सिफारिस नं ३९ को अनुवाद संस्करण सार्वजनिक भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान)ले आदिवासी महिलाका अन्तर्राष्ट्रिय सञ्जाल (फिमी) र विभिन्न सङ्घ संस्थासँगको साझेदारीमा सिड महासन्धिको आधारभूत सिफारिस नं.३९ लाई अँग्रेजी भाषाबाट नेपालीमा अनुवाद, ब्रेल, भिडियो र साङ्केतिक भाषामा समेत अनुवाद गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले समेत आफ्नो अधिकारबारे जानकारी पाउने व्यवस्था गरेको हो ।

निडवानका संस्थापक अध्यक्ष एवं पद्मकन्या क्याम्पसका उपप्राध्यापक प्रतिमा गुरुङले सिडको आधारभूत सिफारिस नं. ३९ले आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरुको हक/अधिकारलाई सुनिश्चत र प्रवद्र्धन गर्ने महत्वपूर्ण बुँदा भएकोले अनुवाद गरिएको बताउनुभयो ।

उहाँले सो बुँदा ३९ लेख अपाङ्गता भएका व्यक्तिहरुको अधिकारबारे जिम्मेवारीसहित जवाफदेही समेत बन्न प्रेरित गर्ने भएकोले दृष्टिविहीनलाई ब्रेललिपीमा र भिडियोसँगै साङ्केतिक भाषामा समेत अनुवाद गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले बुझ्न सक्ने बनाइएको जानकारी दिनुभयो ।

राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सिड समितिको बुँदा नं. ३९ ले तोकेका अधिकारबारे लक्ष्यित वर्गले बुझ्न पाउने सूचनाको हकको रक्षा अनुवादित स्रोत पुस्तिकाले गरेको बताउनुभयो । अपाङ्गता समावेशी विकास विज्ञ कृष्ण गहतराजले अनुवादित यस दस्तावेजले आदिवासी महिला, किशोरी र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सामुहिक अधिकारलाई सुदृढ पार्ने अवसर दिएको बताउनुभयो ।

निडवानका अध्यक्ष जमुना तामाङले आधारभूत सिफारिस नं. ३९ ले अपाङ्गता भएका महिलाका लागि ५० भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष सन्दर्भहरु उल्लेख गरेको बताउँदै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।