काठमाडौँ, ३ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।
वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ले जनाएको छ ।
उक्त सेवा सञ्चालन पश्चात मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्याउने खानेपानी मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्