अर्थ

कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गर्छौ: मन्त्री भण्डारी



काठमाडौँ, ६ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले सामाजिक र कानुनविपरीत वस्तु तथा सेवामा भइरहेको समस्या निरुपणका लागि सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आपूर्ति, सञ्चय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

बजार अनुगमनले उपभोक्ता र वस्तु तथा सेवा बिक्रेतालाई जागरुक बनाएको बताउँदै उनले भने, ‘जनताको आकाङ्क्षालाई सम्बोधन गर्न बजार प्रणालीलाई संस्थागत गर्दै संविधान र कानुन प्रदत्त उपभोक्ता अधिकारलाई संस्थागत गर्नुपर्छ ।’

मन्त्री भण्डारीले कानुनी मान्यताविपरीत सञ्चालन भई समस्या सिर्जना गरिरहेका व्यवसायी तथा उद्यमीलाई कानुनी दायरामा ल्याउन सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा अनुगमनलाई तीव्रता दिँदै आएको जानकारी दिए ।