राजनीति

रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान



काठमाडौँ, १३ जेठ । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा  जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालत अगाडि जम्मा भएका थिए । 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।