समाचार

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक



काठमाडौँ, १३ जेठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०–८१ मा नौ हजार ७८२, आव २०७९–८० मा सात हजार ७०५ र आव २०७८–७९ मा दुई हजार २८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । उनका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

एमक्यापले आव २०८१–८२ मा १२ हजार ५०० पर्यटक भित्र्याउने लक्ष्य राखेकामा ९८ दशमलव शून्य सात प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उनले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताए । 

“कोभिडपछि पर्यटकको आगमन न्यून थियोे”, आयोजना प्रमुख शेरचनले भने, “आव २०७७–७८ मा सबैभन्दा कम अर्थात् एक सय ९४ जना पर्यटकमात्र सो क्षेत्रमा पुगेका थिए ।” सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६–७७ मा पाँच हजार ३३८ र २०७५–७६ मा सात हजार ६५५ रहेको थियो ।