काठमाडौँ, १८ जेठ । बागलुङको काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ ।
ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र हेफर संस्थाको सहकार्यमा महिलालाई दुई सय ४० वटा बाख्रा वितरण गरिएको छ ।
दुई वर्षदेखि गाउँपालिका र हेफरले काठेखोलाका महिलालाई समूहमार्फत उत्पादनसँग जोड्दै आएको हो । गाउँपालिकाले आठवटै वडाका महिलालाई बाख्रा उपहार दिइरहेको छ । यसै साता मात्र काठेखोला –७ रेशमा रहेका सङ्घर्षशील, शुभलक्ष्मी र उद्यमी स्वावलम्बी महिला समूहले उपहार समूहमा आबद्व सङ्घर्षशील, सयपत्री, सुसेली, लगनशील, सूर्यमुखी र शुभलक्ष्मी महिला समूहमा आबद्व सदस्यलाई ५० वटा बाख्रा वितरण गरिएको छ । बाख्रा उपहार पाएपछि महिला खुसी भएका छन् ।
स्थानीय सीमादेवी थापाका अनुसार बाख्रापालनले जीविकोपार्जनमा सहज भएको छ । पछिल्लो समय गाउँमा बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझो बन्दै गएको भन्दै बाख्रापालनका लागि पर्याप्त घाँस रहेको छ । उपहार पाएको एउटा बाख्राबाट बढेर दर्जन पुग्न थालेकाले त्यसले घर खर्च चल्नुका साथै परिवार सहज रूपमा चलेको छ ।










प्रतिक्रिया दिनुहोस्