राजनीति

एमालेका कारण घरघरमा खुसियाली छाएको छः महेश बस्नेत



भक्तपुर, २४ जेठ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेका कारण नेपाली जनताको घरघरमा खुसियाली छाएको दावी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ, नेपाल सूर्यविनायक नगरपालिका वडा नं. ५ को अधिवेशनलाई आज सम्बोधन गर्दै नेता बस्नेतले वृद्धभत्ता, निशुल्क उपचार तथा विकास र समृद्धिका कारण जनताको घरघरमा खुसीयाली छाएको उल्लेख गर्नुभयो । एमालेको नेतृत्वमा भक्तपुरको विकासमा कायापलट गरेको उल्लेख गर्दै सिंहदरवारसँग पहुँचको विकास र विस्तार गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सामाजिक न्याय र क्षेत्रमा संसारले सिक्ने काम एमालेको नेतृत्वमा भएको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको सरकारले बृद्धभत्ता ४ हजार पुर्याएको, ७० वर्ष पुगेकालाई निशुल्क उपचारका कारण घरघरमा खुसियाली छाएको छ, जेष्ठ नागरिकले आँशु झार्ने दिन सकिएको छ । भक्तपुरको विकास बत्तिमुनीको अध्यारो जस्तै थियो । कांग्रेस र नेमकिपाले जित्दा सिंहदरवारबाट भक्तपुर धेरै टाढाको जस्तो थियो । जनताको चित्त बुझ्दो काम गर्न सकेनन् । तर एमालेबाट मैले जीतेपछि भक्तपुरको विकासमा कायापलट भयो । सिंहदरवारसँग भक्तपुरको पहुँचलाई विस्तार गर्यौं ।’

नीति, कार्यक्रम, दृष्टिकोण र भिजन भएको पार्टी कुन हो भनेर युवाले बुझ्न जरुरी रहेको औल्याउनुभयो । नयाँ पुस्ताका युवाहरु राजनीतिमा चासो राख्नु राम्रो रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताका युवाले वुझाईमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘रोग एउटा लागेको छ, औषधी अर्कै खायो भने स्वास्थ्यमा झन् खतरा हुन्छ । यो कुरालाई युवाले ध्यान दिनुपर्छ । राजनीति विग्रियो भने युवालाई स्वभाविक रुपमा असर पर्छ । त्यसकारण राजनीति सुधानुपर्छ । आवश्यकता अनुसार राजनीतिलाई दवाव र प्रभावमा राख्नुपर्छ । यसलाई युवा पुस्ताले सिक्नुपर्छ । जसको लागि भिजन भएको नेतृत्व र क्यालिटीयुक्त र राजनीति बुझेको जनता आवश्यक पर्छ ।’

भक्तपुरको विकासमा आइरहेका बजेटहरु एमालेको पहल तथा कर्मचारीहरुका कारण आइरहेको उल्लेख गर्दै उहाँले कांग्रेसले विकास र समृद्धिको लागि कुनै पनि पहलनै नगरी अरुले गरेका कार्यलाई आफुले गरेको भन्दै जनतामा भ्रम फैलाउने कार्यमात्र गरेको आरोप लगाउनुभयो ।

एमाले नेतृत्वको सरकारले युवालाई रोजगारीमा जोड्ने अभियान शुरु गरेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले युवालाई स्टार्टअप प्रोग्राम, आइडिया स्टुडियो लगायतका माध्यमबाट सरकार अगाडी बढिरहेको जानकारी उहाँले गराउनुभयो । उहाँले भन्नुभयो, ‘अब एमालेले युवालाई राष्ट्रिय पुँजी र रोजगारीमा जोड्ने कार्यक्रमहरु ल्याइरहेको छ । वाध्यताले विदेश जाने युवाहरुलाई देशमा नै रोक्न सकिने तर रहरले विदेश जाने युवालाई रोक्न सकिँदैन ।’

रवि लामिछानेको पार्टी तथा वालेन साहको समूहले युवाहरुलाई भ्रममा लैजाने र समस्याग्रस्त बनाउने खेलहरु खेलिरहेका भन्दै उहाँले आक्रोस जनाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा, वडाध्यक्ष राजकुमार जोशी, संघका केन्द्रीय सदस्य रविन थाप, सुमित कार्कीलगायतका उपस्थिती रहेको थियो । अधिवेशनले गुमान्जुको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।