रौतहट, २७ जेठ । रौतहटको कटहरिया नगरपालिका १ मा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर चोरेको आरोपमा ३ जना युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार कटहरिया १ भासेढवा बस्ने २७ वर्षीय मुकेश दास, सोही ठाउँका १९ वर्षीय राधेश्याम दास र १८ वर्षीय राजु दासलाई पक्राउ गरेको हो ।
उनीहरुले गत शनिवार राति विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरेको बताइएको छ । चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलि पल्ट आइतबार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो । छापामारको क्रममा विद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि चोरी शीर्षक मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्