काठमाडौँ, २८ जेठ । जिल्ला अदालत काठमाडौँले संविधानमा भएको व्यवस्था विपरीत समाचार हटाउन र थप समाचार प्रकाशित नगर्न दुई सञ्चार माध्यमलाई आदेश दिएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पीताम्बर शर्माको इजलासले बिजमाण्डु डटकम र नेपालखबर डटकमलाई समाचार हटाउन मंगलबार आदेश दिएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको कामकारवाहीमाथि प्रश्न उठाएर समाचार प्रकाशित भएपछि ती समाचार बेवसाइटबाट हटाउनुपर्ने र अब थप समाचार लेख्न रोक्न आदेश जारी हुनुपर्ने माग राखी श्रेष्ठ जिल्ला अदालत काठमाडौं गएका थिए । निषेधाज्ञाको निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शर्माले वेवसाइटबाट समाचार नै हटाउनु भनी आदेश दिएका हुन् ।
आदेशमा भनिएको छ, ‘समाचारहरु प्रकाशन गरी निवेदक (सन्तोषनारायण श्रेष्ठ)को इज्जत प्रतिष्ठामा आँच पुर्याएको, बेइज्जती गर्ने तवरबाट समाचार प्रकाशन गरेको भन्ने समाचार समेत देखिदा’ ‘निवेदकलाई हुन सक्ने अपूरणीय क्षति र सुविधा सन्तुलन समेतको दृष्टिकोणबाट विपक्षीहरुलाई आफ्नो वेबसाइट अनलाइन वा अन्य माध्यमबाट अप्रमाणित, तथ्यहीन समाचारहरु प्रकाशन, प्रशारण नगर्नु नगराउनु, प्रकाशित भएका समाचारहरु अनलाइनबाट तुरुन्त हटाउनु, हटाउन लगाउनु भनी विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’










प्रतिक्रिया दिनुहोस्