समाचार

लागुऔषधसहित ६ जना पक्राउ



धनगढी, २८ जेठ । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको छ । उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका-५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका-१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घोडाघोडी-१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षकै दिनेशबहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको छ ।

उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।