काठमाडौँ, ३ असार । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
विभागका अनुसार देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्