बेइजिङ, १३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढी–चिलिमे–जिलोङ–केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको बताएका छन् ।
चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी साङ्हाई सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रको उपलब्धिबारे चर्चा गरे । भारत र बंगलादेशसँग विद्युत् व्यापार भइरहेको र चीनसँग प्रसारण लाइन निर्माण गरिने विषयमा पनि उनले चर्चा गरे ।
‘भारत र बंगलादेशसँग विद्युत् निर्यातको सम्झौता भएको छ,’ उनले भने, ‘चीनसँग रसुवागढी–चिलिमे–जिलोङ–केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ ।’ भारतसँग १३२ केभी तथा त्यसभन्दा कम भोल्टेजका प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको उनको भनाइ छ । भारतको बाटो हुँदै बंगलादेशतर्फ विद्युत् निर्यातको ऐतिहासिक सम्झौता भएको पनि उनले जनाए ।
ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकताका रूपमा चर्चा गर्दै उनले क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो औंल्याए । ‘ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय हो,’ उनले भने । नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९ प्रतिशत जनतामा विद्युत् पहुँचमा पुर्याएको र ९५ प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको खड्काको भनाइ छ ।
नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको मन्त्री खड्काले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्