काठमाडौँ, १७ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिंदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
आज संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिएको भन्दै यसमा नियतवश हेरफेर गरिएको दाबी गरे ।
उनले भने, ‘यसमा समितिले पास गरेकोभन्दा बाहिर गएर गरिएको भन्नेमा सबै सदस्यहरूको एउटै धारणा छ,’ ‘सभापतिले पनि मलाई थाहा नभएको कुरा हो भन्नुभएको छ । सचिवले स्वाभाविक रूपमा लेखेको भन्नुभएको छ तर यस्ता कुराहरू स्वाभाविक हुँदैनन्।’ शर्माले यो कार्य संसदको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको भन्दै कडा शब्दमा आलोचना गरे। ‘यो संसदलाई उपहार दिने नाममा गरिएको षड्यन्त्र र बदमासी हो। यो अत्यन्तै निच र तुच्छ कार्य हो,’ उनले भने, ‘यसको छानबिन हुनैपर्छ। सभापति, सचिव वा समिति-जसको गल्ती हो, उसले जिम्मेवारी लिनुपर्छ।’
उनले कानुनमै हेरफेर गरेर जनताको विश्वास गुमाउने काम भएको उल्लेख गर्दै व्यवस्थापिकाप्रति नै गम्भीर प्रश्न उठेको बताए। ‘अहिले कानुन बनाउने निकायमै यस्तो षड्यन्त्र हुन्छ भने जनताले कसलाई विश्वास गर्ने? यसलाई सजिलै नमानेर आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ,’ शर्माको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्