काठमाडौँ, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज बिहान वर्षा भइरहेको छ । गएरातिदेखि नै केही स्थानमा वर्षा भएको हो ।सिन्धुपाल्चोक, नुवाकोट, बझाङलगायत जिल्लाका विभिन्न स्थानमा वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची नदीमा जलसतह केही बढ्ने महाशाखाले जनाएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ । नुवाकोटको त्रिशूली बेत्रावती वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेको तथा त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय क्षेत्र र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले बताएको छ ।
बझाङको बउलिगाड नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्