म्याड्रिड, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न स्पष्ट आह्वान गरेका छन् ।
नेपाली राजदूतावास म्याड्रिडद्वारा बुधबार आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको अनुकूल वातावरण तयार भइसकेको जानकारी गराउँदै व्यवसायीहरूलाई नेपाल प्रवेशका ढोका खुला रहेको सन्देश दिए ।
उनले भने, ‘नेपाल अब लगानीका लागि पूर्ण रूपमा तयार छ’, ‘हामीले विभिन्न कानुनहरू संशोधन गरेका छौँ, लगानीमैत्री नीतिहरू कार्यान्वयनमा ल्याएका छौँ। अहिले नेपालमा स्थायित्वयुक्त सरकार छ, जसले दीगो र पारदर्शी आर्थिक वातावरणको ग्यारेन्टी गर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक रुपान्तरणतर्फ स्पष्ट लक्ष्यसहित अगाडि बढेको र आर्थिक वृद्धिको इन्जिनको रूपमा निजी क्षेत्रलाई आत्मसात् गरिसकेको स्पष्ट पारे । कानुनी, संस्थागत तथा प्रक्रियागत सुधार भएको उल्लेख गर्दै उनले दक्षिण एसियामध्ये नेपालमा लगानीका लागि सबैभन्दा अनुकूल वातावरण रहेको दाबी गरे । उनले नवीकरणीय ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा अपार सम्भावना रहेको उल्लेख गर्दै स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा स्पेनका प्रतिष्ठित उद्योगी तथा लगानीकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । विशेष सत्रमा सहभागी केही स्पेनी व्यवसायीहरूले नेपालको लगानी वातावरणबारे जिज्ञासा राख्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरे।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल-स्पेन व्यापारिक सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए। ‘हामी स्पेनको वाणिज्य संघ र लगानीकर्ताहरूसँग प्रत्यक्ष सहकार्य गर्न तत्पर छौं’, उनले भने, ‘नेपालमा उत्पादन, पर्यटन, ऊर्जा र पूर्वाधारका क्षेत्रमा अपार सम्भावना छन् ।’










प्रतिक्रिया दिनुहोस्