Banner News

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण समय थप



काठमाडौँ, २४ असार । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि पुन: थप गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले असोज मसान्तसम्मका लागि नवीकरणको समयावधि थपेको छ । सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो ।

‘असारमा क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन ।’

कांग्रेस विधान अनुसार महाधिवेशन हुने वर्ष क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नपाउने व्यवस्था छ ।