काठमाडौँ, २५ असार । मनसुन सक्रिय भएसँगै गुल्मी जिल्लामा सम्भावित प्राकृतिक विपद्बाट करिब २२ हजार नागरिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी र सम्बन्धित सुरक्षा तथा आपतकालीन व्यवस्थापन निकायहरूले तयार पारेको जोखिम मूल्याङ्कन प्रतिवेदनअनुसार यस वर्ष पहिरो, बाढी र डुबानजस्ता विपद्को उच्च जोखिम रहेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैरसरकारी संघ संस्था र पत्रकारसँग विपद् पूर्वतयारी सम्बन्धमा अन्तरक्रिया समेत गरेका छन् ।
विपद्बाट जनधनको क्षति कम गर्न र विपद् भइहालेमा तत्कालै उद्धार र राहत बारेमा छलफल समेत गरिएको थियो । विगत वर्षहरूमा मनसुनको समयमा आएको बाढी, पहिरो, डुबान, सडक अबरुद्ध र घर क्षतिजस्ता घटनालाई आधार मानेर यो वर्ष अझ बढी सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
जिल्लाका पहाडी र भौगोलिक दृष्टिले संवेदनशील क्षेत्रमा बसोबास गर्ने करिब २२ हजार नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै न कुनै रूपमा असरमा पर्ने अनुमान गरिएको गैरेले बताए । जिल्लाका १२ वटा स्थानीय तहका उच्च पहाडी क्षेत्रमा पहिरोको सम्भावना उच्च भएकाले त्यहाँका स्थानीय बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्