काठमाडौँ, २५ असार । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताए ।
उनका अनुसार पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ । यद्यपि गत वर्षको तुलनामा बढी छ । सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ ।
विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्