राजनीति

गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?



काठमाडौँ, २५ असार । गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, ‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

लगत्तै, उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न पनि गरे । ‘अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ?,’ गृहमन्त्री लेखकले प्रश्न गरेका छन् ।