राजनीति

बाढीपहिरो र सुख्खाबाट प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ, २७ असार । सांसदहरूले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले सभामुखबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको विषय स्मरण गरे । कहिँ बाढीबाट त कहिँ सुख्खाबाट जनता प्रभावित भएको उनको भनाइ छ । मधेश प्रदेशले सुख्खा क्षेत्र समेत घोषणा गरेको उल्लेख गर्दै उनले बाढीपहिरो र सुख्खाबाट प्रभावित जनतालाई आवश्यक राहत सहयोग गर्न संघीय सरकारलाई आग्रह गरे ।

नेकपा माओवादी केन्द्रकी सांसद मनरुपा शर्माले नारायणघाटदेखि बुटवलसम्मको बाटो अस्तव्यस्त रहेको बताइन् । पानी पर्ने बित्तिकै सडक बाटो भासिने अवस्थाले अन्यत्र पनि समस्या पैदा भएको उनले सुनाइन् । बाढी र पहिरोका कारण नागरिकको जनजीवन प्रभावित हुन पुगेको भन्दै उनले पनि सरकारको ध्यानाकर्षण गराइन् ।

नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले पनि हरेक वर्ष वर्षायाममा नागरिकले सास्ती बेहोर्दै आएको बताइन् । नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले सरकारले विकास निमाण गर्दा ख्याल गर्न नसकेको बताइन्। ‘के मान्छे मरेपछि मात्रै सरकारको ध्यान पुग्ने हो ?’ सांसद चन्दको प्रश्न छ ।

नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली करिडोरमा रहेको अवरोध छिटो हटाउन सरकारसँग आग्रह गरे ।