काठमाडौँ, २८ असार । विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ ।
यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्