अर्थ

मध्यताँदी खोला जलविद्युत् आयोजनामा लगानी जुट्यो



काठमाडौँ, २८ असार ।  नुवाकोटको ताँदी खोलामा निर्माणाधिन मध्यताँदी खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । 

शुक्रबार काठमाडौंमा जलविद्युत् आयोजनाको लगानीका लागि भएको लगानी सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण गरिरहेको ५.५ मेगावाटको आयोजनाका लागि कुल लागत एक अर्ब १० करोड रुपैयाँमध्ये ७१ करोड ४४ लाख रुपैयाँ प्रभु बैंकले लगानी गर्ने भएको छ । 

यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ । बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । 

१५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रशारणलाइनमार्फत् नुवाकोटस्थित समुद्रटार सवस्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ ।