समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



भक्तपुर, २८ असार । भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।

आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित घोषणा गरिएको थियो ।

मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन घरदैलोमै अब नसर्ने रोगको पहिचानका लागि स्वास्थ्यकर्मीसहितको स्वयंसेविकाको टोली परिचालन गरिने बताए । 

उनले भने, ‘मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेन, त्यसैले नसर्ने रोगको निवारणका लागि रोग पहिचान गर्ने उद्देश्यले स्वास्थ्यकर्मीसहित स्वयंसेवक परिचालन गरेर घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछौँ । त्यसबापत स्वयंसेविकाहरुलाई पारिश्रमिकको व्यवस्था र एक हजार सञ्चार खर्चको व्यवस्था गरेका छौँ ।’ 

उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताउँदै प्रदेशस्तरीय अस्पतालको स्तरोन्नति, जनशक्ति थप र उपकरणहरुको वितरणलाई मन्त्रालयले प्रभावकारी रुपमा अगाडि बनाएको उल्लेख गरे ।