राजनीति

एमाले नौजवान पार्टी हो : योगेश भट्टराई



काठमाडौँ, २८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने बताए । उनले हाल पुराना राजनीतिक दल सकिए र त्यो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

उनले भने, “यहाँ पुराना दलहरू अब सिद्धिँदै छन्, पुराना दलहरूको स्थान नयाँ दलले लिँदै छ भन्ने कतिपयका भाष्यहरू छन्,” “कविन्द्रजी (कविन्द्र बुर्लाकोटी)हरू त्यसमा आस गरिरहनुभएको छ, पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिऊँला भनेर । उहाँहरूको त्यो आशा छ । उहाँहरूको मुख्य नारा नै त्यही हो ।”

दाबी गरेर मात्र नयाँ नभइने उनले बताए । उनले भने, “पुराना दल सिद्धिए, अब हामी । किन हामी भन्ने कुराको प्रश्न छ,” “पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन ।”

राजनीतिक दल कहिल्यै पाको नहुने र नमर्ने उनले बताए । एमालेले हरेक ‘क्रिटिकल’ क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको उनले सुनाए ।

उनले भने, “राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो,” “कांग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपाभन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको छ ।”