बुटवल, २९ असार । राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश कमिटीको चौथो सचिवालय बैठक प्रदेश अध्यक्ष सुरज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा युवा विभाग इन्चार्ज तुलबहादुर अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
बैठकमा केन्द्रीय कमिटीद्वारा प्रदेश अध्यक्ष सुरज खरेललाई सोधिएको स्पष्टीकरणले सम्पूर्ण प्रदेश कमिटीलाई नै हतोत्साहित गर्ने कार्य भएको भन्दै आपत्ति जनाइएको छ । उक्त स्पष्टीकरण पूर्वाग्रहबाट प्रेरित रही, सतही ढंगले नेता–कार्यकर्ताहरूको मनोबल गिराउने कार्य भएको निष्कर्ष निकाल्दै बैठकले तत्काल त्यसप्रति पुनर्विचार गर्न केन्द्रीय कमिटीसमक्ष अनुरोध गरेको छ । यदि उक्त कार्य तत्काल सच्याइएन भने त्यसले संगठनलाई गम्भीर मोडतर्फ लैजाने चेतावनीसमेत दिइएको छ ।
बैठकमा कमिटीका सचिव सन्तोष ओलीले “केन्द्रीय निर्देशन” भन्दै कमिटीका सदस्यहरूलाई बैठकमा नजान निर्देशन दिएको विषयमा छलफल गरी उक्त कार्यप्रति खेद प्रकट गरेको छ ।
बैठकमा बाेल्दै प्रमुख अतिथि तुलबहादुर अधिकारीले पार्टीभित्रका समस्या समाधानमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई अनुशासित, मर्यादित र एकताबद्ध भएर पार्टीप्रति सिर्जित भ्रम चिर्न आह्वान गर्नुभयो ।
बैठकले मदन भण्डारी जयन्तीको अवसरमा सुरु गरिएको वृक्षारोपण अभियानलाई लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसअघि रोपिएका विरुवाहरूको संरक्षणसमेत गर्ने निर्णय गरेको छ । बैठकमा साउन महिनाभित्रै प्रदेश सचिवालय सदस्यहरू र जिल्ला कमिटीका पदाधिकारीहरूलाई समेटेर दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी, बर्खायाम सुरु भएसँगै सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको लागि स्वयंसेवक विभाग प्रमुख राकेश बुढाथोकीको संयोजकत्वमा प्रत्येक जिल्लाबाट पाँच–पाँच जनाको दरले ६१ सदस्यीय स्वयंसेवक टोली गठन गर्ने निर्णय गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा पुगेर महत्वपूर्ण भूमिका निर्वाह गरेका निवर्तमान प्रदेश सचिव तथा प्रदेश इन्चार्ज खेम शर्मा, स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेश सह–इन्चार्ज जीवन अधिकारी र केन्द्रीय सदस्य विक्रम खनाल, केन्द्रिय सदस्ष बिष्णु हमाललाई सम्मान पत्रद्वारा सम्मान गरेको छ । त्यस्तै, १०औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारी, सदस्य तथा लुम्बिनी प्रदेशबाट निर्वाचित सबै प्रतिनिधिलाई बैठकले बधाई ज्ञापन गरेको छ ।
राष्ट्रिय युवासंग नेपाल लुम्विनी प्रदेश कमिटीको आजको बैठकले लेनिनबादी संगठनात्मक सिद्धान्तलाई आत्मसाथ गर्दै मार्गदर्शक सिद्धान्त माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित भई सिद्दान्त अनुकुलको आचरण र व्यावहार गर्न सबै संगठनका नेता कार्यकर्ताहरुमा अपिल गरेको छ ।










प्रतिक्रिया दिनुहोस्