राजनीति

भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वद्र्धनमा अतुलनीय योगदान: राष्ट्रपति



काठमाडौँ, २९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबिच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् । 

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीको अवसरमा उनलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका हुन्। 

“भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्‍याउन र यसलाई अझ समुन्नत तुल्याइ नेपाली भाषा, साहित्य एवम् संस्कृतिको सम्वद्र्धनका निम्ति अतुलनीय योगदान पुर्‍याएको पाइन्छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवर्द्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ ।” 

भानुभक्तीय रामायण नेपाली भाषा लिपीको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्‍याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।