काठमाडौँ, ३१ असार । कैलालीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भजनी नगरपालिका-९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भजनी नगरपालिका–९ का ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही वडाका ३० वर्षीय सुरेश विक रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमार्फत आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
विशेष सूचनाको आधारमा सोमबार दिउँसो पक्राउ गरिएका उनीहरुको साथबाट एउटा पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०.२२ बोरको (हर्नेट) नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एउटा कटुवा पेस्तोल, एउटा भरुवा बन्दुक, भरुवा बन्दुकको घोडा एक थान, एक डिब्बा छर्रा, दुई गुच्छा मयुरको प्वाँख, तीनवटा जरायोको सिङ बरामद गरिएको छ ।
प्रहरीका अनुसार उनीहरूमाथि हातहतियार ऐन र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
बरामद सामग्रीको प्रकृति हेर्दा संगठित आपराधिक गिरोहसँग सम्भावित संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्