काठमाडौँ, ३१ असार । विराटनगरबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइएको ठूलो परिमाणका औषधिसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ५ बजे विराटनगर महानगरपालिका–१६, दरैयास्थित भारत सीमाबाट भन्सार छल्दै नेपाल भित्र्याइएको औषधिसहित स्थानीय २६ वर्षीय सिकन्दर यादवलाई पक्राउ गरिएको हो ।
मोटरसाइकलमा चार कार्टुनमा राखेर नेपालतर्फ ल्याउँदा गर्दा प्रहरी टोली देखेपछि औषधि फालेर भाग्न खोज्दा उनलाई मोटरसाइकल र औषधिसहित नियन्त्रणमा लिइएको हो ।
उनलाई पक्राउ गर्ने क्रममा ओमेगा टाइम ट्याब्लेट २३०, प्रोकल डी ट्याब्लेट ४७ र ट्रमाकल एम ट्याब्लेट ७९२ बट्टा बरामद गरिएको छ । ती सबैमा प्रतिबट्टा ३० ट्याबलेट रहेको प्रहरीले जनाइएको छ ।
मोटरसाइकलसहित बरामद गरिएको सामग्रीको मूल्य सात लाख ९० हजार ३०० रुपैयाँबराबर अनुमान गरिएको छ । बरामद औषधि र पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय रानीमा पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्